खादाबारे भ्रम र सत्य ! न्यूज २४ को भनाई

साउन १७ गते न्यूज २४ टेलिभिजनको पावरन्यूज कार्यक्रममा खादाबारे प्रशारित सामग्रीलाई लिएर देश तथा विदेशबाट भइरहेको नकारात्मक टिकाटिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो देशको धर्म : वौद्ध धर्म र यस धर्मावलम्वीप्रति विशेष सम्मान गर्दै वुद्ध वाज बर्न इन नेपाल नामको अभियान नै सञ्चालन गरी संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनसमक्ष १० लाख हस्ताक्षर बुझाएको यस न्यूज २४ टेलिभिजनले कदापि वुद्ध धर्मप्रति आक्षेप लगाउने कल्पना समेत गर्नसक्दैन ।
खादाको विषयमा प्रशारित पूरै कार्यक्रम नै नहेरी, कार्यक्रमको सारसन्देश नै नबुझी गलतढंगले नकारात्मक प्रचार गरिरहेकाहरुलाई सवैभन्दा पहिला हामी पुन एक पटक पूरै कार्यक्रम हेरेर प्रतिक्रिया  दिन अनुरोध गर्दछौं । र, त्यस कार्यक्रममा खादाबारे जजस्ले जे बोलेका हुन् तिनको आवाज प्रस्तुत गर्ने माध्यम मात्र हामी भएका हौं । आफैमा खादाप्रति हाम्रो कुनै गलतभाव नै छैन । खादा वौद्ध धर्मावलम्वी विशेषको पवित्र वस्तु भएकाले हामी त्यसप्रति गहिरो सम्मान गर्दछौं र गरिरहन्छौं । हाम्रो सरोकार त झन् के हो भने, खादाको महत्व नबुझी, यसको गरिमा र पवित्रतालाई नै असर गर्नेगरी जोसुकैले जेसुकै प्रयोजनका लागि जथाभावी प्रयोग गरेकामा चिन्ता हो, यो चिन्ता वौद्ध धर्मप्रतिको सम्मान साथ गरिएको हो । सम्मानको सकारात्मक उदेश्यसाथ प्रशारित कार्यक्रममा व्यक्त भएका विचार, वाक्य, शब्द र तिनका भावले वौद्ध धर्मावलम्वी वा अन्य कसैलाई पनि चोट पुग्न गएको भए त्यसप्रति न्यूज २४ टेलिभिजन क्षमा याचना गर्दछ ।
हाम्रो नियत न कुनै समुदाय वा सम्प्रदायको आश्थामाथि प्रहार गर्ने हो न त कुनै फरक आस्थाबाट प्रेरित भएर नै उक्त विषयमा कार्यक्रम प्रसारण गर्नु हो । केही समयअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्व विद्यालयको ५७ औं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्ति र सँस्कृतिविद् डाक्टर जगमान गुरुङको भनाईलाई आधार बनाएर हामीले खादा विशेष पावरन्यूज निर्माण र प्रशारण गरेका हौं । जहाँ हाम्रो कुनै निजी विचार मिसिएको छैन । र हामीले प्रष्ट भाषामा भनेका छौं, ‘कुनै धर्म वा समुदायका लागि खादा एक विशेष सामग्री भए पनि त्यसको महत्वबारे बुझ्दै नबुझी प्रयोग बढाउँदा पवित्र खादाकै अपमान भएको छ ।

नेपाली समाजमा खादाको प्रयोग बढ्दै गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई यस्तो थियो :

हामीले सम्मानका लागि जुन खादा प्रयोग गर्दै आएका छौं, यो केमिकलजस्तो छ । न डढ्छ, न सड्छ, स्वास्थ्यको लागि पनि हानिकार छ । सम्मानका लागि खादाको प्रयोग गर्नुभन्दा एउटा फूल दिए भैगो नि त । त्यसमाथि पनि खादामा अनेक बुट्टामा अनेक कुराहरु लेखिएको हुन्छ, के लेखिएको हुन्छ पनि थाहा हुँदैन । कहाँ बन्ने हो, कुन देशमा बन्ने हो ? हामीले किन किन्नु प¥यो ?
निवर्तमान प्रधानमन्त्री ओलीले खादाबारे दिएको प्रतिकृया भिडियोमा हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=6xRqOJvGzb4
यसरी प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई समाचार सामग्री बनाउनु आमसञ्चार माध्यमको धर्म हो । खादाकै विषयमा पावरन्यूज बनाउँनु गलत नियत नभई प्रधानमन्त्रीको भनाईमा आधारित सामान्य न्यूज हो । र प्रधानमन्त्रीको भनाईलाई विश्लेषण गर्नका लागि हामीले सँस्कृतिविद् डाक्टर जगमान गुरुङको भनाई प्रस्तुत गरेका थियौं । जहाँ गुरुङले भनेका छन् ।तिब्बतको हिमवन्त प्रदेशमा फूल नपाइने भएपछि नौनी ध्यूको फूल बनाउँन थालियो । र पूजाआजामा त्यहीं प्रयोग गर्ने गरिन्थ्यो । पछि सम्मानार्थ प्रयोग गर्ने वैकल्पिक सामग्रीको रुपमा खादाको प्रयोग सुरु भयो । सुरुमा प्रयोग हुने खादा सादा हुन्थ्यो । पछि विभिन्न रंग र आकारमा खादाको व्यापार सुरु भयो । जसलाई असी खादा भनिन्छ । त्यो महङ्गो पनि हुन्छ । र त्यहाँ के लेखिएको हुन्छ भन्ने नेपालीलाई थाहा हुँदैन । नेपालबाट वौद्ध धर्म तिब्बत पुग्यो । त्यसक्रममा नेपालहुँदै तिब्बत पुगेका भारतीय गुरुबाट तिब्बतीहरुले विभिन्न विद्या सिके । फेरि तिब्बतहुँदै त्यो विद्या नेपाल आयो । त्यससँगै नेपालमा खादाको पनि प्रवेश भयो । यसर्थ खादा सँस्कृति नेपालको होइन । तिब्बतमा पो फूल नभएर खादाको प्रयोग गरियो, नेपालमा फूल नै प्रशस्त छ । खादा आफैंमा गलत होइन । तर पछिल्ला दिनहरुमा खादालाई गलत काममा पनि प्रयोग गर्न थालियो ।
खादामा के लेखेको छ थाहा छैन, जे गर्दा पनि खादा लगाइदिने भन्यो, लगाइदियो । पछि चिनियाँहरुले पत्ता लगाएछन् कि, खादामा स्वतन्त्र तिब्बतको बारेमा लेखिएको हुन्छ । त्यसैले चिनियाँ राजदुत होस् या अरु कुनै पाहुनाले तिब्बती खादा मन पराउँदैनन्, बहिष्कारै गर्ने गरेका छन् ।
पहिलापहिला खादामा सँस्कृत मन्त्रलाई तिब्बती भाषामा लेखिन्थ्यो । सुस्वास्थ्य, दीर्घायूको कामना गरिएको हुन्थ्यो । तर अहिले चाहीं तिब्बतीहरुले आआफ्नै पक्षमा नाराहरु लेख्न थाले । हामीले भाषा नबुझ्दा के लेख्यो ? के लेख्यो ? भन्ने थियो । चिनियाँहरुले फ्रि तिब्बतको बारेमा लेखेको पत्ता लगाए ।
गुरुङले कार्यक्रम पावरन्यूजमा गरेको विश्लेषण भिडियोमा हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=j-D1nLcOjhk
यसरी हामीले तत्कालीन प्रधानमन्त्री र सँस्कृतिविद्को भनाईमा आधारित रहेर पावरन्यूज निर्माण गरी प्रसारण ग¥यौं । हाम्रो नियत कुनै धर्म वा समुदायको मर्ममाथि प्रहार गर्ने होइन भनेर पटकपटक भनेका छौं । हामीले खादाको सम्मानकै खातिर प्रस्तुत गरेको कार्यक्रम पूरै हेर्दै नहेरी अनुमानको भरमा मनलाग्दी टिप्पणी गर्नु सही होइन । र, फेरि एक पटक पूरै कार्यक्रम हेरेर मात्रै धारणा बनाउँन अनुरोध गर्दछौं । र, हाम्रो खादाप्रतिको सम्मान सदाबहार छ, रहिरहनेछ

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!