प्रधानमन्त्रीले भने-म हुँ मधेसी

विराटागर-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको गतिबाट पछाडि फर्काउन नमिल्ने बताएका छन् । उनले राजनीतिक क्रान्ति सकिएकाले अब मुलुक आर्थिक विकासको एजेन्डामा तीव्रतासाथ बढ्ने बताए । 
'काम गर्न गठन भएको सरकार हो,' विराटनगरमा शनिबार एमालेले थालेको तराई–मधेस अभियान समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'दाउपेच, व्यक्तिगत वा दलगत स्वार्थ, को सरकारमा छ, को छैन भन्ने कुरा सरकारले हेर्दैन, पूरै ध्यान विकासमा छ, त्यो गरेरै छाड्छु ।'

प्रधानमन्त्री ओलीले काठमाडौं र पोखरामा रेल सेवा सुरु हुने, दुई लेनको हुलाकी राजमार्ग निर्माण गर्ने, मध्यपहाडी लोकमार्ग छिट्टै सम्पन्न गर्ने, चतरा–घुर्मी हुँदै मकवानपुरसम्मको अर्को वैकल्पिक राजमार्ग बनाउने र जोगवनी–किमाथान्का सडक निर्माण गर्ने बताए । 'अब नेपाल हिजोको जस्तो रहँदैन,' ओलीले भने, 'सरकार तीव्रताका साथ विकास निर्माणमा लाग्नेछ ।'

प्रधानमन्त्री ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने र दुई वर्षमा नेपाललाई चाहिएजति विद्युत उत्पादन हुने दाबी गरे । 'दुई वर्षपछि जे–जे चलाउन मिल्छ, त्यति बिजुली उपलब्ध हुन्छ,' ओलीले भने, 'पंखा, टिभी, फ्रिज, एसी, वासिङ मेसिन के–के मन लाग्छ, सबै चलाउन पुग्ने बिजुली दिन्छौं ।' प्रधानमन्त्री ओलीले धिमा गतिमा रहेको विद्युत उत्पादन प्रक्रियामा तीव्रता ल्याउने वाचा गरे । भने, 'एक वर्षमा लोडसेडिङ हटाउँछु र दुई वर्षमा चाहिने जति बिद्युत दिन्छु भन्दा केहीलाई पचेको छैन ।'

'हम हुँ मधेसी छि'

प्रधानमन्त्री ओलीले मैथिली भाषामै बोल्दै आफू पनि मधेसी नै रहेको बताए । उनले आफ्नो घर पनि मधेसमै रहेको भन्दै मधेसी–पहाडीको नाममा देशलाई पछाडि फर्काउने काम भइरहेको बताए । 'हम हुँ मधेसी छि, हमरो घर मधेसे मे छै,' ओलीले भने, 'माधव नेपाल सेहो मधेस के छै, रौतहट के ।'

नेकपा एमाले मधेस अधिकारको विरोधी नरहेको बताउँदै ओलीले संविधानमा मधेसको अधिकार समेटिएको बताए । 'बहुदल आएयता म २०–२२ महिना मन्त्री भएँ होला, मधेसका नाममा हल्ला गर्नेहरू २० वर्षदेखि मन्त्री छन्,' ओलीले भने, 'झन्डा हल्लायो मधेस बिर्सियो, झन्डा हट्यो मधेस याद आउँछ ।'

संविधानलाई लिएर तराई–मधेसमा भ्रम रहेको भन्दै सत्तासीन नेकपा एमालेले चार महिनाअघि जनजागरण अभियान थालेको थियो । समारोहमा सहभागी एमालेका मधेसी मूलका नेतालाई मैथिलीमै बोल्न लगाइएको थियो । एमालेका नेता माधवकुमार नेपालले पनि अधिकांश समय मैथिलीमै भाषण गरे । 'हम हुँ मधेसी छि, के कहैक छैक कि नै छि,' नेपालले भने, 'रौतहटमे जन्मली, मोरङ–पर्सामे कर्मथलो बनैली, हम हुँ मधेसी छि ।' नेपालले पनि मधेसका लागि लडाइँ गर्ने पार्टी एमाले नै भएको तर्क गरे । एमालेका अर्का नेता झलनाथ खनालले राजनीति परिवर्तनको अध्याय सकिएकाले मुलुक आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।

अगाडि को बोल्नेमा घोचपेच

विराटनगरको सहिद रंगशालामा जनसभा सुरु हुने बेलादेखि नै मञ्चमा बसिरहेका नेकपा एमालेका नेता माधवकुमार नेपाल क्रम मिचेर अगाडि बोल्न खोज्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसित केहीबेर घोचपेच गरे ।

एमाले महासचिव इश्वर पोखरेल बोलिसकेपछि उद्घोषिका विष्णुमाया तुम्बाहाम्फेले सम्बोधनका लागि ओलीको नाम लिनै लाग्दा नेता नेपालले पहिला आफू बोल्ने भनेर उद्घोषिकालाई सम्झाए । नजिकै बसेका ओलीले पहिला आफू बोल्ने भने । नेपालले पहिला आफू बोल्ने, अनि मात्र ओलीलाई बोल्न पटकपटक आग्रह गरिरहे । तर, ओली मानेनन्, जुरूक्क उठे, माइक समातेर बोल्न लागे ।

ओलीले भाषण प्रारम्भ गरिसक्दा पनि नेता नेपालले पहिला आफू बोल्नुपर्ने भन्दै छेउमै बसिरहेका अन्य नेतासित गनगन गरिरहेका थिए । करिब दुई घन्टा ढिलो कार्यक्रम स्थल आइपुगेका प्रधानमन्त्री ओली सहभागी फाटफुट बाहिरिन थालेको देखेपछि पहिला बोल्न तम्सेको मोरङ एमालेका एक नेताले बताए । 'प्रधानमन्त्री ओलीको अन्त्यमै बोल्ने सेड्युल थियो,' ती नेताले भने, 'उहाँले पहिला बोल्ने इच्छा राखेपछि हामीले केही गर्न सकेनौं ।' कार्यक्रमको अन्त्यमा वरिष्ठ नेता खनालको बोल्ने पालो परेको थियो ।
Last modified onSunday, 06 March 2016 07:5

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!