मेरी श्रीमती: अचेल जिस्केर मैले उनको खुट्टा ढोग्छु

रामकृष्ण ढकाल, गायक
२३ फागुन, काठमाडौं । ‘हजुर, म फलानो । मैले हजुरको छोरीलाई मन पराउँछु, बिहे गर्न चाहन्छु,’ मैले उनको बुवालाई फोन गरेर भनेँ ।
उनीसँग सल्लाह गरेरै उनको बुवालाई फोन गरेको थिएँ । सुरुमा त बुवा अलमलमा पर्नुभयो । नेपाली संस्कारअनुसार हाम्रो जात मिल्दैनथ्यो- उनी नीलम शाह ठकुरी र म क्षेत्री-बाहुन । उनको परिवारको चाहना पनि जात मिल्नेसँग नै बिहे गरिदिने रहेछ । त्यसमाथि हाम्रो समाजमा छोरी दिन केटाको पेसा-व्यवसाय हेरिन्छ । भरपर्दो, राम्रो जागिर भएको केटा खोजिन्छ । म कलाकार, कमाइको कुनै ग्यारेन्टी हुँदैन, भोलि के हुन्छ, त्यसले गर्दा पनि मलाई उनको परिवारले छोरी दिन सोच्नैपर्ने थियो । फेरि उनको ठूलो खान्दान रहेछ, सबैसँग सरसल्लाह गर्नुपर्ने ।
मैले ठूलो हिम्मत गरेर फोन गरेको थिएँ । त्यसपछि मेरा आफन्त-अग्रजहरू, साथीहरूले औपचारिक कुरा अघि बढाउनुभयो ।
दरबारमार्गमा कलाकार निर्मल शर्माको रेस्टुरेन्ट थियो, त्यहाँ हामी कलाकारहरू बेला-बेला भेटघाट गरिरहन्थ्यौँ । त्यहीँ उनको परिवारलाई भेटेर कुरा छिनियो भनौँ । मेरोतर्फबाट आफन्तलगायत अग्रज दाइहरू हुनुहुन्थ्यो- न्ह्यु बज्राचार्य, भुषण दाहाल, डिजे राजुलगायत ।
कुरा छिनेपछि दुवै परिवारबाट ज्योतिषलाई चिना देखाइयो, धार्मिक मान्यताअनुसार । तर, चिनाले विवाहका लागि अलिकति ग्रह नमिलेको जस्तो देखायो । फेरि पनि धार्मिक मान्यताअनुसार पूजापाठ गरेर त्यो ग्रह कटाइयो । र, गुहेश्वरीमा मन्दिरमा बिहे गरियो । हाम्रो भेट ०५९ भदौतिर भएको हो, १४ मंसिरमा त बिहे नै भयो ।
एउटा ब्ल्याक एन्ड ह्वाइट फोटोले तान्यो
२७-२८ को थिएँ । बिहे गर्ने मनस्थिति बनाइसकेको थिएँ । साथीभाइ, आफन्तमार्फत बिहेका लागि केटी हेर्दै थिएँ, यो ०५९ सालको कुरा हो ।
एक दिन एउटा पत्रिकामा नोबेल एकेडेमी कलेजको विज्ञापन देखेँ, जसमा एउटा सानो ब्ल्याक एन्ड ह्वाइट फोटो थियो, केटीको । किन-किन त्यो फोटोले मलाई आकषिर्त गर्यो । विज्ञापनमा कलेजको नम्बर पनि थियो । फोन गरेर उनलाई हेर्न गएँ- चन्द्रप्रकाश शर्मा -मुन लाइट रेकर्डको प्रोप्राइटर) लाई साथी लिएर, कोही आफन्तलाई त्यस कलेजमा भर्नाका लागि बुझ्ने बहाना बनाएर ।
उनी त्यही कलेजमा पढ्ने, स्मार्ट भएर होला, कलेजले उनलाई विद्यार्थी भर्ना शाखामा केही अवधिका लागि जिम्मेवारी दिएको रहेछ । उनीसँग सीधै भेट भयो । सुरुमा विद्यार्थी भर्नाबारे नै कुरा भयो । त्यसपछि कसो-कसो गीत-संगीतबारे पनि कुरा हुन पुग्यो ।
त्यतिबेला मेरो ‘आधार’ एल्बम निस्केको थियो । भर्खर मात्रै दुइटा गीतको भिजुअल बनाएका थियौँ- ‘यो त सब भन्ने कुरा न हो’ र ‘अचानोलाई थाहा होला’ बोलको गीतको ।
उनले ‘यो त सब भन्ने कुरा न हो’ बोलको गीतको भिडियो हेरेकी पनि रहिछन् । गीतबारे पनि कुरा भयो । त्यो दिन त्यत्तिकै फक्र्यौं । फोन नम्बर आदानप्रदान भएको थियो, कुराकानी हुन थाल्यो ।
हामीले क्याफे-रेस्टुरेन्टमा भेटेर कफी खायौँ । खुलेर कुराकानी हुन थालेपछि एक दिन मैले फोनमा भनें, ‘म बिहे गर्ने प्लानमा छु । केटी खोज्दै छु ।’
पारिवारिक पृष्ठभूमि
उनको माइतीको पुरानो थलो रुकुम, पछि कैलाली बसाइँ सरेको । कैलालीमा प्रशस्त जग्गा-जमिन छ । उनको बुवा भरत शाह, कुनै खास पेसा गर्नुहुन्न, उही खेती-किसानी हेर्नुहुन्छ । उनको बुवाको दुई दाजुभाइ, ठुल्बुवा गोपालजीजंग शाह दुई-तीनचोटि मन्त्री हुनुभएको छ ।
उनी काठमाडौंमा जन्मेकी, यहाँ डिल्लीबजारमा पनि घर छ । उनका पाँच बहिनी मात्र हुन्, उनी साहिली ।
म बारा निजगढमा जन्मेको हुँ । हामी चार दाजुभाइ हौँ, म साहिँलो । पछि मेरो परिवार सिमरामा बसाइँ सर्यो । अहिले मेरा दाजुभाइसहितको परिवार चितवनमा छ । म सानै हुँदा मेरो बुवाको देहान्त भयो, आमाको देहान्त भएको पनि पाँच वर्ष भइसक्यो ।
मेरो संघर्षको कथा
सानैदेखि गाउँथेँ । सिमरामा हुँदा स्कुल जान्थेँ, कहिलेकाहीँ वीरगन्जतिर फिल्म हेर्न जान्थेँ । हिन्दी फिल्मका गीत गाउँथेँ । चिन्नेजान्नेले मेरो राम्रो स्वर छ, ठूलो गायक हुन्छौ भन्थे । त्यहाँ एउटा भारतीय नागरिक पनि थिए । उनले मलाई भारत लगेर ठूलो गायक बनाउँछु भने । सानै थिएँ,
भागेर भारतको सुगौलीसम्म पुगेँ । तर, उसले गाउँमा लगेर राख्यो, त्यसपछि चार-पाँच दिनमै म रेल चढेर फर्कें । र्फकंदा रक्सोलमा टिकट चेक गर्यो, मसँग टिकट थिएन । मैले हिन्दी गीत गाइदिएँ, पैसा दिनु परेन ।
कताकता काठमाडौंमा आएर गायक हुन सकिन्छ भन्ने लागिसकेको थियो । मेरो आवाज सुनेर धेरैले ममा सम्भावना देखेका थिए, हौसला दिन्थे, काठमाडौं जाउ भन्थे ।
एक दिन काठमाडौंको यात्रा गरेँ, साझा बस चढेर- आफन्तलाई भेट्ने, गाउने अवसर पाए गाउने पनि भनेर । यो ०४३ सालतिरको कुरा हो ।
भव्य सांस्कृतिक कार्यक्रम थियो, नेपाल ल क्याम्पसमा । त्यही हो जीवनमा मैले धेरै दर्शकमाझ गाएको । मैले गाउँदा दर्शकले ‘वान्स मोर’ भने, पैसा बर्साउन थाले ।
म ०३२ सालको हुँ । त्यतिबेला ११ वर्षको थिएँ, काठमाडौंमा कसैले गीत गाउ भन्यो भने गाइहाल्थेँ । वागबजारमा गीत गाएको थिएँ, अनौपचारिक ढंगले । मैले गाएको गोपाल कर्माचार्यदाइले सुन्नुभयो । उहाँ कलाको पारखी हुनुहुन्छ । उहाँले ममा सम्भावना देखेर आफूसँगै राख्नुभयो । पद्मोदयमा भर्ना भएर पढ्न पनि थालेँ ।
पहिले गोपालदाइ एक्लै बस्नुहुन्थ्यो, पछि उहाँको परिवार पनि आउनुभयो । गोपालदाइसँग ०४८ सम्म बसेँ । त्यतिबेला होटल-रेस्टुरेन्टमा गजल गाइन्थ्यो । सोल्टी मोडको सुराही र दरबारमार्गको दरबार रेस्टुरेन्टमा गाउन थालेँ । कमाइ पनि हुन थाल्यो ।
त्यसपछि घट्टेकुलोमा डेरा लिएर बसेँ, साथी सुनील अर्यालसँग । उसले तबेला बजाउँछ । ऊसँग दुई-तीन वर्ष बसेँ । त्यसपछि एक्लै बस्न थालेँ ।
श्रोता-दर्शक माझ
भव्य सांस्कृतिक कार्यक्रम थियो, नेपाल ल क्याम्पसमा, मैले गीत गाउने अवसर पाएँ । यो ०४४ सालको कुरा हो ।
कार्यक्रममा गाउनका लागि मैले केही नेपाली र हिन्दी गीत प्राक्टिस गर्दै थिएँ । त्यही क्रममा मैले गुनगुनाएँ- और इस दिल मे क्या रखा हे… ।
यो गीत त्यतिबेला खुबै हिट थियो । त्यही कार्यक्रममा यो गीत गाउन धर्मेन्द्र सुब्बादाइले धेरै दिनदेखि तयारी गर्दै हुनुहुँदो रहेछ । उहाँले मलाई भन्नुभयो, ‘भाइ, तिमी राम्रो गाउँछौ । यो गीत तिमी नगाऊ, म गाउँछु ।’
त्यतिबेला मैले नारायणगोपालका गीत र हिन्दी गीत गाएँ । नरेन्द्र प्यारीले हार्मोनियम बजाउनुभएको थियो । मैले गाउँदा दर्शकले ‘वान्स मोर’ भने, पैसा बर्साउन थाले । मधु क्षेत्रीदाइ चिफ गेस्ट हुनुहुन्थ्यो । उहाँलाई गीत गाउन बोलाइयो, तर दर्शकले मेरो नाम लिएर चिच्याए ।
मधुदाइले एउटा गीत गाएर फेरि मलाई बोलाइयो । मैले गाउन थालेँ । ‘और इस दिलमे’ धर्मेन्द्रदाइले गाइसक्नुभएको थियो । दर्शकले त्यही गीत गाउन भन्नुभो, मैले गाएँ । दर्शकले ‘वान्स मोर’ भनिरहे ।
२५ असार ०४५ मा पहिलो ढकाल सुमधुर साँझ सम्पन्न भयो, गोपाल कर्माचार्यदाइकै पहलमा । त्यतिबेला मैले २२ वटा गीत गाएँ । त्यतिबेला म्युजिक नेपालले लाइभ रेकर्ड गरेको थियो, एल्बम नै निस्क्यो, एल्बम निकै बिक्री भयो । त्यो कार्यक्रम गोपालदाइले इलाम नगरपालिकाको सहयोगार्थ गर्नुभएको थियो, उहाँ इलामकै हुनुहुन्छ । हामीले त्यतिबेला २५ हजार नगरपालिकालाई सहयोग गर्यौँ । गोपालदाइले मलाई पनि केही खर्च दिनुहुन्थ्यो, घरमा आमालाई लगिदिन्थेँ ।
गोपालदाइसँगै बस्दा नै संगीत प्रवीण नरराज ढकालसँग संगीत पनि सिक्न थालेँ, दुई वर्षजति सिकेँ । मेरो पहिलो गीत ०४५ सालतिर रेडियो नेपालमा रेकर्ड भयो- हाम्रो सुन्दर संसार होला । मैले सिकेर गाउन थालेको होइन, मेरो आवाज गड गिफ्टेड हो ।
यसरी नै ०५० सालमा आशीर्वाद एल्बम निस्कियो, गोपालदाइकै पहलमा । गोपालदाइसँग नबसे पनि म उहाँकोमा गइरहन्थेँ । आशीर्वादका सबै गीत हिट भए ।
त्यसपछि ०५३ सालमा आशीष एल्बम निस्कियो । अनि आशा निस्कियो, आलोक श्रीजी र मेरो लगानीमा । आशाको ‘ओराली लागेको हरिणको चाल भो’ निकै हिट भो । थुप्रै अवार्ड पाएँ । त्यसपछि ०५६ मा आरोह, ०५८ मा आग्रह, ०५९ मा आधार निस्क्यो ।
यही आधार एल्बम उनको बर्थ डेमा उपहार दिएँ र हाम्रो प्रेम सुरु भयो ।
प्रेम-प्रस्ताव
फोनमा कुरा हुँदै जाँदा मलाई उनको बर्थ डे थाहा भयो । बर्थ डे विस गर्ने सोचेँ- ठमेलको एउटा रेस्टुरेन्टमा बोलाएर फूलको गुच्छा र मेरो नयाँ एल्बम आधार दिएँ । त्यो दिन कफी पिएर छुट्यौँ । भेट्न आउँदा उनले एउटी साथी पनि लिएर आएकी थिइन् । बेलुका फोनमा कुरा भयो । उनले दिउँसो आफूसँगै आएकी साथी मन पर्यो कि परेन भनेर सोधिन् ।
मलाई अचम्म लाग्यो । ‘किन र ?’ भनेर सोधेँ । उनले भनिन्, ‘बिहे गर्दै छु, केटी खोज्दै छु, भनेको होइन ? त्यही भएर मैले साथी लिएर गएकी थिएँ, हजुरलाई मन पर्छ कि भनेर !’
मैले जिस्किएजस्तो गरी भनेँ, ‘बिहे गर्ने भए त मैले तिमीसँगै गर्छु नि ! तिमी राम्री छौ, मलाई मन पर्छ ।’ मेरो कुरालाई उनले सामान्य रुपमा नै लिइन् । मैले जिस्किएर भने पनि यही नै प्रेम-प्रस्ताव भइदियो । फेरि फूलको गुच्छासहित प्रस्ताव गर्नुपरेन । त्यसपछि हामी फोनमा कुरा गरिरह्यौँ । कफी पिउने बहानामा भेट्यौँ । बिहेअघिसम्म मैले उनलाई त्यस्तै चार-पाँचचोटि भेटेँ । योबीचमा हामी निकट भइसकेका थियौँ, बिहे गर्नेसम्मको कुरा भइसकेको थियो ।
बिहेको रात नै उनको हातको खाना खाएँ
त्यतिबेला म लाजिम्पाट बस्थेँ, डेरामा । मसँग आमा पनि हुनुहुन्थ्यो, मेरो बिहेका लागि चितवनबाट आउनुभएको थियो । पछि बिहेपछि पनि हामी त्यहीँ बस्यौँ ।
बिहेको पहिलो र दोस्रो दिन त भेटघाटमै व्यस्त भइयो । बिहेको भोलिपल्ट उनको माइती पक्षले पार्टी दिनुभयो । पर्सि मैले दिएँ, सात-आठ सयजना आफन्त शुभचिन्तकलाई बोलाएर ।
तेस्रो दिन अविस्मरणीय रह्यो । भोजमा प्रायः मैले खाना खान्नँ । अझ आफ्नै बिहेभोज, भेटघाट-कुराकानीले फुर्सद नहुने भइहाल्यो । राति एक-डेढ बजेतिर घरमा पुगेको थिएँ । २ बजेतिर खाना खाएँ, उनको हातबाट । मैले उनलाई खुवाइदेउ न भनेँ, उनले हातले खुवाइदिइन् ।
उनले बिहेअघि भन्थिन्, ‘म त मेरो मुमालाई पनि सँगै लिएर आउँछु । उहाँसँग छुट्न सक्छु जस्तो लागेको छैन ।’ मैले ‘लिएर आउ’ भन्थेँ । तर, आमालाई लिएरै आउने कुरा त भएन ।
जेहोस्, उनलाई परिवार छोडेर आउँदा नरमाइलो लागेको थियो नै । बिहे भएको तीन दिन भएको छैन, नयाँ बेहुलीलाई आफैँले सम्झाइबुझाइ गर्नुपर्ने हो । मैले उल्टै खाना खुवाइदेउ भनेँ, उनले खुवाइदिइन् । यो सम्झँदा रमाइलो अनुभूति हुन्छ ।
बिहे गरेको डेढ महिनापछि मैले उनलाई लिएर अमेरिका गएँ । मदनकृष्ण, हरिवंशदाइसँग गएका थियौँ, सांस्कृतिक कार्यक्रमकै सिलसिलामा । दुई महिना बस्यौँ । मलेसिया, दुबई पनि उनलाई लगेको छु ।
बिहेको तेस्रो दिन बिहेभोज थियो । भोजबाट राति एक-डेढ बजेतिर घरमा पुगेको थिएँ । २ बजेतिर खाना खाएँ, उनको हातबाट । मैले उनलाई खुवाइदेउ न भनेँ, उनले हातले खुवाइदिइन् ।
बाघको जस्तो स्वभाव
उनी धार्मिक प्रवृत्तिकी छिन् । धार्मिक मूल्य-मान्यता, पूजाआजामा विश्वास गर्छिन् । बिहानमा प्रायः घरमै पूजा गर्छिन्, धूप बाल्छिन्, घन्टी बजाउँछिन् । धार्मिक आस्था मेरो पनि छ, तर दुवै धार्मिक कट्टर होइनौ ।
सबैसँग खुलिहाल्ने, घुलमिल भइहाल्ने उनको नेचर छैन । साथी पनि छानेर बनाउँछिन् । कसलाई विश्वास गर्ने, कसलाई नगर्ने- मान्छेलाई चिन्न सक्ने क्षमता राख्छिन् । हाम्रो यही गुण मिल्दैन, म अरुलाई छिटै विश्वास गर्छु, निकट हुन्छु ।
कसैलाई दुःख देखाउने उनको स्वभाव छैन । उनको स्वभाव बाघको जस्तै छ । बाघ बुढो हुँदै वा कमजोर हुँदै गएपछि एक्लै हुन मन पराउँछ रे, आफ्नो दुःख अरुलाई कसैलाई पनि देखाउन चाहँदैन रे । उनको त्यो स्वभावसँग म हारेको छु ।
नेपालीको सामान्य स्वभाव नै छ कि धेरै गीत गाउन वा नाच्न मन गर्छन्, यो हाम्रो सांस्कृतिक पाटो पनि होला । उनी नाच्न चाहिँ मन गर्छिन् । १२ वर्ष भयो बिहे भएको, अझसम्म मैले उनले गीत गुनगुनाएको सुनेको छैन, यतिसम्मकी बाथरुममा पनि उनले गुनगुनाएको सुनेको छैन । फेरि राम्रो श्रोता हुन् । उनी छानेर गीत सुन्छिन्, गीत बुझ्छिन् । मलाई सुझाव पनि दिन्छिन्, यो गीत, यस्तो गीत गाउँदा राम्रो हुन्छ भनेर ।
उनले फरक लाउन र गाउन सिकाइन्
बिहे अघिसम्म मैले र्फमल ड्रेस लगाउँथे । औपचारिक देखिन आइरन लगाएको लुगा लगाउनुपर्छ भन्ने बुझेको थिएँ । बिहेपछि उनले मेरो पहिरन नै परिवर्तन गरिन्, यति जवानीमै र्फमल ड्रेस लगाएपछि बुढो देखिन्छ भनेर । क्याजुएल ड्रेस लगाउन भनिन्, हेयर स्टाइल पनि चेन्ज गरिदिइन् ।
म अलि गम्भीर खालका गीत गाउँदै आएको थिएँ । उनले अलि फरक खालको पनि गाउनुपर्छ भनिन् । त्यसपछि फरक शैलीका गीत पनि गाएँ- नजिक आउनुमा माया लाउनुमा, तिम्रो आगमनले फेरिजस्ता ।
छोरी जन्मँदा
हाम्री छोरी जन्मिइन्, १७ अगस्त २००६ मा । छोरी जन्मँदा म उनीसँगै थिएँ । उनको स्वास्थ्य सामान्य नै थियो, तर पेटभित्र हुँदाभन्दा बाहिर निकाल्दा बच्चा बढ्न सक्ने देखियो । र, सामान्य अप्रेसनबाट बच्चा निकालियो ।
उनलाई ओम हस्पिटलमा डा. भोला रिजालले हेर्नुभएको हो । उहाँसँग कलाकारिताको सम्बन्ध थियो, छ ।
अप्रेसन गर्ने अवस्था आएपछि हामीलाई आफैँलाई अप्रेसनको डट रोज्न भनिएको थियो । हामीले भदौ १ गते छानौँ । त्यसको अघिल्लो दिन हामी दुवै उनको माइतीमा गएर खाना खायौँ । र, साँझ हस्पिटल गयौँ । त्यो रात उनलाई हस्पिटलमै बस्न बोलाइएको थियो । हस्पिटलमा एउटा क्याबिन लिएर दुवैजना बस्यौँ । मेरो साढुदाइ इन्द्रबहादुर शाही, ट्राफिक प्रहरीमा हुनुहुन्छ, उहाँ पनि आउनुभएको थियो ।
बिहान साढे पाँच बजेतिर अप्रेसनबाट छोरी जन्मिइन् । भर्खर जन्मेको बच्चा डाक्टरले मलाई दिए, निकै आनन्द भएको थियो, संसारै जितेजस्तो ।
सँगै हाँसेका र रोएका पल
मैले रोजेर उनलाई पाएको हुँ । छोटो चिनजानमै उनले पनि मलाई मन पराइन्, चाहिन् । त्यसैले बिहे भएको दिन हामी दुवै खुसी थियौँ । त्यसपछि छोरी जन्मँदा खुसी भयौँ । हामी सँगै हुँदा खुसी भइरहन्छौँ, किनभने उनलाई पाएरै म खुसी छु ।
श्रीमान-श्रीमती भनेकै दुःखसुखका साथी हुन् । त्यो बेला दम्पतीबीच एकअर्काको टड्कारो आवश्यकता महसुस हुन्छ, जति बेला दुःख आउँछ । कुनै बेला यस्ता पीडा पनि आउँछन्, जुन अरु कसैलाई सुनाउन सकिँदैन, श्रीमतीबाहेक । बिहेपछि गहिरो दुःखको महसुस हुँदा अँगालेर रुने श्रीमती नै हुन् । हामी धेरैपटक सँगै रोएका छौँ ।
हामीसँगै अलि बढी रोएको भनेको घर लिलामी हुँदा नै हो । हामीले एउटा घर लिएका थियौँ, सहकारी संस्थाको लोनमा । हामीले नै लोनमा घर लिन्छौँ भनेर गएका थिएनौँ । उतैबाट कुरा आएको थियो । पछि लिलामीको सूचना निकालियो । त्यतिबेला लोनको ताकेता, लिलामीको सार्वजनिक सूचनाले गर्दा पनि हामी धेरैपटक सँगै रोएका थियौँ । घर लिलामीको सूचना आउँदा म युरोपमा थिएँ, उनी घरमै थिइनँ । आफू बसिरहेको घर लिलामीको सूचना एउटी नारीका लागि कति भारी होला ! उनले फोनमा मलाई सुनाइन् । फोनमै पनि र फर्केर पनि हामी सँगै रोयौँ । कहिलेकाहीँ सिनेमा हेर्दा पनि सँगै रोइन्छ ।
झगडापछि आत्मीय हुन एक-दुई दिन लाग्छ

वैवाहिक जीवन सफल हुने अन्डरस्ट्यान्डिङले नै हो । एक-अर्काको बानी सबै मिल्छ भन्ने हुँदैन । दुई-चार दिन भेट्ने मान्छेसँग त केहीबेर राम्रो बन्न सकिएला । तर, सधैँ सँगै बिताउनु सानो कुरा होइन ।
प्रायः म घरमा ढिला र्फकेका बेला उनी रिसाउँछिन् । बिहेका सुरुका वर्ष यो समस्या बढी नै भइरह्यो । विभिन्न कार्यक्रम, भेटघाटले गर्दा धेरैजसो घर र्फकन मलाई ढिला हुन्थ्यो ।
म कलाकार परेँ- फोन, फेसबुकमा अनेक कुरा आउँछन्, कसैले आइ लाइक यु भन्छ, कसैले आइलभ यु नै भनिदेलान्, यस्ता कुरामा पनि उनको चासो रहन्छ । म जतिबेला पनि फोन-नेट, चलाइरा हुन्छु । यसले गर्दा पनि सामान्य झगडाजस्तो पर्छ ।
ठुस्केर सामान्य ठेलठाल गर्ने, उनले माया र रिसले चिथोर्ने जस्तो त हुन्छ । तर, झगडा नै गरेर, एक्सटि्रममै पुगेर हात उठाउने, रिसाएर पटक्कै लामो समय बोल्दै नबोल्ने, हामीबीच अहिलेसम्म भएको छैन । अति नै भयो भने, कहिलेकाहीँ यसो सामान फाल्नेसम्म हुन्छ ।
कहिलेकाहीँ सामान्य झगडाजस्तो परेपछि पहिलेजस्तै आत्मीय हुन् एक-दुई दिन नै लागेको पनि छ, त्यस्तो बेला कामको कुरा मात्रै बोल्ने गर्छौं । रिसाएपछि फकाउने मनै हुन्छु । किनभने, मेरै कारणले उनी रिसाएकी हुन्छिन् । गिफ्ट ल्याइदिएर, सरप्राइज दिएर फकाउँछु ।
पछि छोरी आइन् । छोरी नै उनको साथी हुन थालिन् । अहिले सबै राम्रो छ । हाम्रो झगडा पनि कम हुँदै गएको छ । उनी के कुराले रिसाउँछिन् भन्ने मलाई थाहा भइसक्यो, म के कुराले रिसाउँछु भन्ने उनलाई थाहा छ ।
नारायणगोपालको पुरानो गीत छ नि- केही चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ… । हाम्रो पनि हरेक मिल्ने-नमिल्ने स्वभाव अहिले बानीजस्तै भइसकेको छ ।
सुरुका १५ दिन हरेक बिहान खुट्टा ढोगिन्
बिहेका सुरुवाती दिनमा उनले मेरो खुट्टा ढोग्थिन्, बिहान उठ्नेबित्तिक्कै, त्यस्तै १५ दिनजति यो क्रम चल्यो । उनले त्यस्तै संस्कार सिकेकी थिइन् सायद । तर, १५ दिनपछि हामीबीच श्रीमान-श्रीमती भन्ने नै रहेन, साथी भइहाल्यौँ । बरु अचेल जिस्केर मैले उनको खुट्टा ढोग्छु ।
अहिले पनि हामी श्रीमान-श्रीमतीभन्दा गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड जस्तै छौँ । सम्बन्ध औपचारिक भयो भने न यस्ता मूल्य-मान्यता, संस्कारतिर ध्यान जान्छ । हामी साथीजस्तै चलिरहेका हुन्छौँ, कहिले उनले मलाई लात्तीले हिर्काउँछिन्, कहिले मैले हिर्काउँछु । यही हो कि उनले मलाई असाध्यै माया गर्छिन्, त्यही माया विभिन्न रुपमा देखिन्छन् ।
म घरमै भएका बेला उनले एक्लै खाना खाँदिनन् । म आउँछु भनेपछि भरे अबेलासम्म पनि सँगै खान पर्खन्छिन्, मैले खाउ मलाई ढिला हुन्छ भन्छु, तर उनी मलाई पर्खिरहन्छिन् ।
आज १२ वर्ष भयो, हाम्रो बिहे भएको । सबैभन्दा ठूलो कुरा उनी मैले विश्वास गर्न योग्य छन् । उनीमाथि अविश्वासको कुनै कुरा मैले सोच्नै सक्दिनँ ।
अहिलेसम्म मैले तीन हजारजति गीत गाएको छु । सांस्कृतिक कार्यक्रमका सिलसिलामा ४० भन्दा बढी देश गएको छु । अहिले हामी भैंसीपाटीको आफ्नै घरमा छौँ । अहिले सबै राम्रो छ । सबैभन्दा ठूलो कुरा त हाम्रो सम्बन्ध सुमधुर छ ।
मेरो राम्रो हुनुको श्रेय उनैलाई जान्छ । घरमा उनले राम्रो वातावरण दिएर नै मैले कलाकारितामा राम्रो गर्ने हो । मान्छेलाई घरदेखि नै रमाउन सकेन, खुसी हुन सकेन भने, उसलाई प्रगति गर्न गाह्रो हुन्छ ।
मैले त उनको लागि गीत नै गाएको छु- तिम्रो आगमनले फेरि नयाँ उमंग ल्यायो, सुन्दर बिहानीजस्तै झुल्के घाम जीवनमा ल्यायो । उनले मलाई साथ दिएकी छिन्, त्यति राम्री छोरी दिएकी छिन् । उनी आएपछि मेरो संसारै सुन्दर बनेको छ ।
प्रस्तुतिः ध्रुवसत्य परियार
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2016/03/397037/#sthash.ceaNu52h.dpuf

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!