कालोबजारीले नेपालको छवि थप 'धमिलिन सक्ने'

विश्वका विभिन्न मुलुकमा भ्रष्टाचार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरन्याशनल(टीआई)ले तयार पारेको पछिल्लो सूचीमा नेपालको स्थिति गत वर्षको तुलनामा झन् खस्केको पाइएको छ।
नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि कानुन र संस्थाहरु विद्यमान भए पनि तिनका काम प्रभावकारी नभएकाले स्थिति दयनीय बन्दै गएको बताइन्छ।
ग्यास, मट्टितेल, डिजेल जस्ता आधारभुत वस्तुहरुसमेत सहजै नपाइने तर कालो बजारमा किन्न पाईने अहिलेको अवस्थामा सुधार नआए नेपालमा भ्रष्टाचारको स्थिति अर्को वर्ष झन् भयावह बन्ने विज्ञहरु बताउँछन्।
विभिन्न पाँच संस्थाको अनुसन्धान प्रतिवेदनमा आधारित भएर ट्रान्सपरेन्सी अर्थात् टीआईले उक्त सूची तयार पारेको हो।

नेपालको स्थान

अध्ययन गरिएका १६८ मुलुकमा नेपालको स्थान १३० औं मा छ।
शून्यदेखि १०० सम्म नम्बर बाँड्दा नेपालले यो वर्ष २७ अंक पाएको थियो गत वर्ष नेपालले २९ अंक पाएको थियो।
टीआइको सूचीमा सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क परेको छ भने पाँच नम्बरसम्मका मुलुकहरु पनि युरोपकै फिनल्याण्ड, स्वीडेन, न्यूजील्याण्ड, नेदरल्याण्ड्स र नर्वे परेका छन्।
दक्षिण एशियामा भुटान सबभन्दा अगाडि ६५ औं स्थानमा छ भने भारत ७६ औं स्थानमा छ।
त्यसैगरी श्रीलंका ८३ औं, पाकिस्तान ११७ औं, बांग्लादेश १३९ औं र अफगानिस्तान १६६ औं मुलुक बनेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध काम गरेका समाचार बाक्लै आए पनि नेपालमा भ्रष्टाचार बढेको बढ्यै किन होला? भन्ने प्रश्नमा अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले भने, "अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामले कस्तो प्रभाव ल्यायो भन्ने टीआइएको सीपीआई इन्डेक्सले प्रतिविम्वित गर्दैन। त्यसैको आधारमा धारणा बनाउनु सरासर गलत हो।"

'सहि सर्भे'

तर टीआई नेपालका अध्यक्ष भरतबहादुर थापा सो धारणासँग सहमत छैनन्।
उनी भन्छन्, "वर्ल्ड ब्यांक, बोटल्सम्यान फाउण्डेशन, वर्ल्ड जस्टिस, ग्लोबल इन्साइट र वर्ल्ड इकोनोमिक फोरमको गरेको अध्ययनका आधारमा टीआईले सूची तयार गरेको हो। यि एकदमै सही सर्भे हुन्।"
भ्रष्टाचारमा दखल राख्ने पत्रकार हरिबहादुर थापा टीआईको रिपोर्टले नेपालका सार्वजनिक निकायमा स्वेच्छाचारिता बढेको देखाएको औंल्याउँछन्।
उनी भन्छन्, "सार्वजनिक पद दुरुपयोग सम्बन्धी क्रियाकलाप सम्बन्धी सूचीमा हामीले २८ अंक पाएका थियौं अहिले २३ पाएका छौं। हाम्रो राज्यका तीन अंगका पदाधिकारी स्वेच्छाचारी भएको संकेत यसले दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम पर्याप्त नभएको पनि यसले देखाएको छ।"
नेपालमा अहिले नाकाबन्दीको नाममा फस्टाएको कालाबजारीले स्थिति झन खतरनाक बनेको टीआई नेपालका अध्यक्ष थापा बताउँछन्।
उनी भन्छन्, "कालोबजारीले संस्कारको रुप लेला भन्ने सबभन्दा ठूलो डर छ। सार्कमा पहिले हामी उत्कृष्ट थियौं। क्रमश: झर्दै गइरहेका छौं। यस्तै भइरहे अर्कोचोटि सबभन्दा तल परिएला।"
भ्रष्टाचार सञ्जालहरुको खुलासा गर्न सक्ने बलियो सञ्चार माध्यमको उपस्थिति, भ्रष्टाचार विरुद्ध ठूलो संख्यामा नागरिक परिचालन, भ्रष्टाचारको कारक पहिचान र भ्रष्टाचार विरुद्धको दण्डहिनता अन्त्य भए मात्र भ्रष्टाचार कम हुन सक्ने टीआईको रिपोर्टले जनाएको छ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!