डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुक

लन्डन, माघ १३ । भ्रष्टाचारको मामलामा नेपालको अवस्था गम्भीर रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । भ्रष्टाचारबारे अनुगमन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले जारी गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणको सवालमा नेपालको अवस्था विगत तीन वर्ष यता लगातार खस्किएको हो ।
भ्रष्टाचारनियन्त्रणमा सफलताको आधारमा दिइएको अंक अनुसार जारी प्रतिवेदनमा नेपाल १३० औं नम्बरमा छ । नेपालले २७ अंकका साथ उक्त स्थान ओगटेको हो । जबकी विश्वकै कम भ्रष्टाचार हुने राष्ट्र ठहरिएको डेनमार्कले ९१ अंक हासिल गरेको छ । यद्यपी अघिल्लो वर्षको तुलनामा डेनमार्कले १ नम्बर कम पाएको छ । सन् २०१४ मा डेनमार्क ९२ अंकसहित पहिलो नम्बरमा थियो । सन् २०१५ मा पनि पहिलो नम्बर मै रहे पनि उसको अंक घटेको हो ।
भ्रष्टाचारको मामलामा सोमालिया र उत्तर कोरियाले सबैलाई उछिनेका छन् । सूचीको पुछार अर्थात् १६७ औं नम्बरमा रहेको दुबै मुलुकले समान ८ अंक हासिल गरेका छन् । पछिल्ला वर्ष यी दुबै मुलुकको अंकमा कुनै सुधार नआएको हो ।
१६६ औं स्थानमा रहेको अफगानिस्तानले भने सन् २०१३ को तुलनामा सन् २०१४ मा केही सुधार गरे पनि सन् २०१५ मा खास प्रगति गर्न सकेन । सन् २०१३ मा ८ अंक पाएको उसले सन् २०१४ मा १२ अंक पाएको थियो तर सन् २०१५ मा उसले ११ अंक हासिल गरेको छ ।
१३० औं नम्बरमा नेपालसँगै इरान, क्यामरुन, निकारागुवा, पाराग्वे र युक्रेन रहेका छन् ।
सूचीको शीर्ष १० मुलुकमा डेनमार्क, फिनल्याण्ड, स्वीडेन, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, सिंगापुर, क्यानाडा र जर्मनी रहेका छन् । (एजेन्सी)

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!