“नेपाल मेरो घर, यो हाम्रो नेपालको अवार्ड”
आफ्नो पूरै जीवन अनाथ र असहाय बालबालिकाको सेवामै लगाउने
काठमाडौंमा सिएनएन हिरो २०१५
सिएनएन हिरो २०१५ अवार्ड जित्न सफल अमेरिकी युवती म्यागी डोयनले आफ्नो जीवन नेपाली अनाथ बालबालिकाको सेवामा समर्पित गर्ने बताएकी छिन् । अमेरिकाबाट मंगलबार नेपाल फर्किएकी म्यागीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो पूरै जीवन अनाथ र असहाय बालबालिकाको सेवामै लगाउने बताइन् ।
१९ वर्षको उमेरमा नेपाल आएकी म्यागीले मध्यपश्चिमको सुर्खेतमा अनाथ बालबालिकालाई नि:शुल्क पढाउने कोपिला भ्याली समाज सञ्चालन गरेकी छिन् । उनले सञ्चालन गरेको कोपिला भ्याली स्कुलमा चार सयभन्दा धेरै बालबालिकाले नि:शुल्क रूपमा पढिरहेका छन् भने होस्टेलमा ५१ जना अनाथ बालबालिकाले नि:शुल्क रूपमा बस्न र पढ्न पाएका छन् ।
म्यागीले सिएनएन हिरोको अवार्डसँगै पाएको एक लाख डलर आफूले चलाएको स्कुलको क्षमता बढाउन र अन्य क्षेत्रमा समेत विस्तार गर्न खर्च गर्ने बताइन् । उनले सुर्खेतसँगै अब जुम्ला, कालिकोट, अछामलगायत जिल्लामा पनि सेवा विस्तार गर्ने योजना बनाएको बताइन् । उनले सानो उमेरमै नेपाल आएको र यहाँकै बच्चाहरूसँग काम गरेकाले आफूलाई नेपाल घरजस्तै लाग्ने बताइन् ।
१७ वर्षको उमेरमा भोलिन्टियर काम गर्न भारत आएकी म्यागीले कालिकोटका टोपबहादुर मल्लमार्फत नेपाल आएर १९ वर्षको उमेरमा अनाथ बालबालिकाको सेवा गर्न सुरु गरेकी थिइन् । उनले बुधबार पत्रकारसँग भनिन्, ‘नेपाल मेरो आफ्नै घर हो ।’ उनले आफूले पाएको अवार्डलाई ‘हाम्रो नेपालको अवार्ड’ भएको बताइन् ।
‘हाम्रो नेपालका धेरै बालबालिका अनाथ र गरिब भएकाले पढ्न नपाएको मैले देखेकी छु, उनीहरूलाई यो अभियानमा कसरी समेट्ने भनेर म सधैँ सोचिरहन्छु,’ उनले भनिन् । ‘यो मरो अवार्ड होइन,’ उनले भनिन्, ‘यो अवार्ड मेरा छोराछोरी र पूरा नेपालको अवार्ड हो ।’ अहिले स्कुलमा पढिरहेका अनाथ बालिबालिका भविष्यमा सफल व्यक्ति भएर नेपालको विकासमा लागेको हेर्ने आफ्नो इच्छा भएको बताइन् ।
‘मेरा छोराछोरी पछि डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, राजनीतिज्ञ भएर नेपालको सेवा गरेको हेर्ने मेरो इच्छा छ, त्यसैले म सधँै नेपाल बसिरहन्छु,’ उनले भनिन् ।
नयाँ पत्रिका दैनिकबाट

Comments
Post a Comment