नेपालमा भुकम्प कसरी गयो?


काठमाडौ, वैशाख २१ - वैशाख १२ गते शनिबार नेपालमा मध्याह्न हुनु केही अघि पृथ्वीको सतहभन्दा ९ माइल मुनिको चट्टान सर्‍यो र त्यसले एक धक्का दियो । 
काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्काको तरंग २० आणविक हतियार फाटेजति नै शक्तिशाली थियो भनी व्याख्या गरिएको छ । भौगर्भिक दृष्टिमा यो धक्का घडी हेरे जसरी सन् १९३४ (विसं १९९०) मा गएको भूकम्पको ठीक ८१ वर्षपछि आएको थियो ।
 नेपालको भूकम्प प्रविधि राष्ट्रिय समाजको प्रतिवेदन अनुसार सन् १२५५ को अभिलेख अनुसार हिन्दू–यारलुङ रेखामा पर्ने यो क्षेत्रमा सालाखाला हरेक ७५ वर्षमा ८ रेक्टर स्केलको भूकम्प जाने गरेको देखिन्छ । 
यसरी भूकम्प जानुको कारण हो, नेपालको दक्षिणी सिमानाको सतहमुनि भएर गुज्रने लामो धाँजामा हुने नियमित हलचल, जहाँ ४ देखि ५ करोड वर्षअघि भारतीय उपमहाद्वीपको चट्टान युरोसिया चट्टानसँग जुधेको थियो । 'भूविज्ञानका लागि भारतीय र युरेसिया चट्टान बीचको संघात एक नमुना हो' हङकङ विश्वविद्यालयका भूभौतिकशास्त्री डा. लुङ एस चाङ भन्छन्, 'भारतीय प्लेट भन्ने गरिएको प्लेट एसियाको उत्तरतिर वर्षको २ सेन्टिमिटर अर्थात इन्चका दरले अगाडि बढिरहेको छ । भौतिकविज्ञानका हिसाबमा यो ज्यादै द्रुत हो ।'
यी दुई प्लेटबीच घर्षण हुँदा क्रस्ट (पृथ्वीको माथिल्लो सतह­) चिरा–चिरा नपरुन्जेल तनाव र ऊर्जा पैदा भन्दै उनी भूकम्पलाई आणविक हतियारको विष्फोटनसँग तुलना गर्छन् । चाइना विश्वविद्यालयका भूकम्प विशेषज्ञ हङफेङ याङका अनुसार उक्त प्लेट २ मिटर सरेकाले नेपालमा यस पटक भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार यो भूकम्प तुलनात्मक रूपले पृथ्वीको सतहमाथि नै गएको थियो । पृथ्वीको भित्री सतहमा जाने भूकम्पभन्दा बाहिरी सतहमा जाने यस्तो भूकम्प ज्यादा विनाशक हुन्छ र पछिपछि पनि साना धक्काहरू आई नै रहन्छन् ।
भूकम्पपछि ती प्लेटहरू फेरि हल्लन थाल्छन् र यसको समय पुन: तय हुन्छ । 'उम्लिरहेको भाँडोको पानीले बिर्काे घचेटेजस्तै भूकम्पले ऊर्जा प्रवाह गर्छ,' डा. चाङ भन्छन्, 'तर फेरि बिर्काे लगाएपछि सामसुम भएजस्तै, यो पछाडि जान्छ ।' टेक्टोनिक घर्षणको विशाल शक्तिका कारण मात्रै नेपाल विध्वंसकारी भूकम्पको जोखिममा भएको होइन, पृथ्वीको सतहमुनि लामो धाँजामाथि यो देश परेकाले पनि भूकम्पको जोखिम बढेको हो । जब जमिन चर्किन्छ र छुट्टिन्छ तब सामान्य धाँजाले खाली ठाउँ बनाउँछ । 
नेपाल यस्तो थेचारिएको भनिएको धाँजामा परेको छ, जहाँ एक टेक्टोनिक प्लेट अर्काेमाथि खप्टिन अघि सर्छ । यसको सर्वाधिक दृश्यमान परिणाम हिमशृखला नै हो । यो धाँजा १४ सय माइलसम्म पसारिएको छ । अनि भारतीय प्लेट र युरेसियन प्लेटबीचको निरन्तर घर्षणले यी शृंखलाको उचाइ हरेक वर्ष एक सेन्टिमिटरले बढिरहेको छ । नेपालमा नियमित जस्तो भूकम्प गइरहने देखिएता पनि यो कहिले जान्छ भन्ने चाहिँ पहिल्यै भन्न सकिँदैन । 
'टेक्टोनिक प्लेटहरूको ऐतिहासिक अभिलेख र तिनको आधुनिक मापनले के देखाउँछ भने,' डा. याङ भन्छन्, 'लगातार एकै खालको ऊर्जा संकलन भइरह्यो भने यो क्षेत्रमा हरेक ४०/५० वर्षमा महाभूकम्प जान्छ ।' विज्ञहरूका अनुसार शक्तिले धाँजामा चाप पैदा गर्ने जटिलताको अर्थ हो वैज्ञानिकहरू कुनै क्षेत्रमा सय वर्षमा कति पटक सालाखाला भूकम्प जान्छ भन्ने अनुमान गर्न बाहेक अरू केही गर्न असमर्थ छन् । यद्यपि यसका प्लेटहरूको नियमित हलचलले गर्दा अन्यत्रको भूकम्पभन्दा नेपालको भूकम्प ज्यादा अनुमानयोग्य छ । किन यस्तो हुन्छ भन्ने बारेमा चाहिँ वैज्ञानिकहरु निश्चित छैनन् । 
पृथ्वीको टेक्टोनिक प्लेटहरू निरन्तर चालमा हुन्छन् । केही धाँजाहरूले संकलित तनावलाई भूकम्पका रूपमा निस्पाद गर्छन् । कुनै धाँजाले चाहिँ यो शक्तिलाई शान्तसँग छाडिदिन्छन् । 'नेपालजस्ता केही क्षेत्रमा ऊर्जा  केही क्षणका लागि ठूला भूकम्पका रूपमा निस्पाद हुन्छन्,' डा. चाङ भन्छन्, 'यी क्षेत्रका आआफ्नै प्रकृति छन् जसको कारण भूगर्भविदहरूलाई थाहै छैन ।'
साभार : दि वालस्ट्रिट जर्नल

प्रकाशित मिति: २०७२ वैशाख २१ १०:०९ 

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!