दुखदाई बस दुर्घटना

धादिङ-नौबिसेमा बस दुर्घटना हुँदा १७ जना भारतीय तिर्थयात्रुको मृत्यु भएको छ। एक महिना २ दिन लगाएर नेपालका विभिन्न तिर्थस्थल भ्रमण गरी फर्कने क्रममा उनीहरु चढेको बस आज बिहान त्रिभुवन राजपथअन्तर्गत पर्ने नौबिसको झाप्रेखोला र सिस्नेखोलाबीचको घुम्तीबाट करिब २ सय मिटर तल खसेको हो।
 दुर्घटनामा १४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते‍ २८ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।

एक महिना २ दिनदेखि नेपालका विभिन्न धार्मिक स्थलको अवलोकन गरेका उनीहरुले मंगलबार पशुपतिको दर्शन गरेर आज बिहान साढे पाँचबजे भारतका लागि निस्केका थिए। गुजरात राज्यको सुरेन्द्रनगर जिल्लाबाट दुईओटा बसमा ९० जनाको टोली नेपाल यात्रामा आएको थियो। जसमध्ये एउटा बस दुर्घटनामा परेको हो।

उक्त बस तीब्र गतिमा रहेको र बिपरित दिशाबाट आउँदै गरेका मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको सोही भ्रमण टोलीका सदस्य प्रतापभाइ सतावाहारले जानाकारी दिए। छेउमा रहेको सेफ्टी जालीसहित खसेको बस २ सयमिटर तल चिलाउनेको रुखमा अड्किएको छ। दुर्घटनामा पर्ने सबै गुजरात, सुरेन्द्रनगर जिल्लाको धौगद्रा गाउँ आसपासका रहेको प्रतापभाइले जानकारी दिए।

बसमा २२ पुरुष र २३ महिला सवार थिए। मृत्यु हुनेमा ८ महिला र ९ जना पुरुष रहेको बताइएको छ। मृत्यु हुनेहरुमा देवजीभाई सतवाहार, गणेशभाई सतवाहार, दयारामभाई सतवाहार, नारसीभाई सतवाहार, गारामभाई सतवाहार, गणपतभाई सतवाहार, दलपतभाई सतवाहार रहेका छन्। महिला मृतकहरुमा जसुबेन सतवाहार, लीलाबेन सतवाहार, सबिताबेन सतवाहार, गौरीबेन सतवाहार, कन्चनबेन सतवाहार रहेका छन्। मृतक ५ जनाको भने अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

उद्धारका लागि काठमाडौं जिल्ला प्रहरी प्रमुख उत्तम कार्कीसहित नेपाल प्रहरी, सशत्र प्रहरी ट्राफिक प्रहरी र स्थानीयसहित करिब ४ सयजना खटिएका छन्।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!