नेपथ्यको अस्ट्रेलिया यात्रा, डार्विनबाट आमाको सम्झना

डार्विन (अस्ट्रेलिया) । नेपथ्यका गायक अमृत गुरुङले चाँडै रिलिज हुन लागेको एल्बमको एउटा गीतका केही लाइन उद्धृत गर्दै सुनाए
कोसीको पानी यो जिन्दगानी
सललल जाइजाने नि हौ हजुर
आमाको कोखमा बास मात्रै लिए नि

कुन देशको मरन हौ हजुर



पूर्वी नेपालको हाक्पारे शैलीको धुनमा तयार पारिएको यो गीत उनले शनिबार डार्विनमा आयोजित कन्सर्टमा गाउँदा दर्शकले पनि स्वर मिलाएर साथ दिए ।
गीत सुनाइसकेपछि उनले भने, ‘आज आमाको मुख हेर्ने दिन हो । आफ्नी आमालाई फोन गर्न नभुल्नुस् । तपाईंको फोनले उनी खुसी हुनेछिन् ।
उत्तरपश्चिम अस्ट्रेलियाको सानो तटीय सहर डार्विनमा करिब एक हजार नेपाली छन् । नेपथ्यको कन्सर्टमा डार्विन र आसपास दुईतीन सय किलोमिटर टाढाबाट नेपाली दर्शक जम्मा भएका थिए ।
नेपाली थोरै रहेकाले सुरुमा त हामी यहाँ आउने कुरामा दोधार थियौं । तर, यहाँ रहेका नेपालीको बेजोड उत्साहले उम्कन पाएनौं,’ नेपथ्यको प्रबद्र्धक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘हामीले नेपालमा ५ सय दर्शकको उपस्थितिमा पनि कन्सर्ट गरिसकेका छौं भने यहाँ किन नआउने भनेर सोच्यौं । अनि आयौं ।
डार्विनको कन्सर्ट नेपथ्यको जारी अस्ट्रेलिया यात्राको चौथो हो ।
यहाँ कति नेपाली बस्छन् भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन । करिब एक हजार नेपाली रहेको हाम्रो अनुमान छ,’ डार्विनमा कन्सर्ट आयोजना गर्नेमध्येका एक चन्द्र गुरुङले भने, ‘नेपथ्यलाई यहाँ ल्याउन सक्नु हाम्रो लागि गौरवको कुरा हो । र, हाम्रो निमन्त्रणा स्वीकार गरिदिएकोमा नेपथ्यप्रति आभारी छौं ।
डार्विनको गर्मी नेपथ्य टिमका लागि चुनौती बनेको थियो, दुई घन्टाको प्रस्तुति सकिँदा सबै पसिनाले निथ्रुक्क भिजेका थिए ।
डार्बिनको हावापानीले नेपालको तराई क्षेत्रको याद दिलाउँछ । यहाँ गाइरहँदा दमककै हावापानी भए जस्तो लाग्यो,’ प्रस्तुतिपछि मुस्कुराउँदै गायक अमृतले भने ।
पसिनाले छपक्कै भिजेका उनले थपे, ‘कलाकारका लागि दमक होस् कि डार्विन, दर्शक उस्तै हुन् ।
कन्सर्ट सफलतापूर्वक सम्पन्न भएकोमा म खुसी छु, यहाँ बस्ने नेपालीमध्ये आधालाई जमघट गराउन सक्यौं, डार्विनमा यस्तो पहिले कहिल्यै भएको थिएन,’ इभेन्टका संयोजक धन गुरुङले भने ।
नेपाल होस् कि बाहिर, नेपथ्य नेपालीहरूलाई एकढिक्का बनाउने माध्यम भएको छ,’ उनले थपे ।
  

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!